काठमाडौं- नेपाल घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका तीन स्थानीय तहसँग महिला तथा युवालक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ। राजधानीमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी नगरपालिका र पथरी शनिश्चरे गाउँपालिकासँग महिला तथा युवालक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो।
सम्झौतामा स्थानीय तहसँग मिलेर महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धनका लागि सहकार्य गरिने भएको छ। सम्झौतासँगै स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी महिला तथा युवाले उद्योग स्थापना गर्न, व्यवसाय गर्न महासंघ र स्थानीय तहले सघाउने भएका छन्। युवा उद्यमीलाई सघाउन र प्रोत्साहित गर्न महासंघले विशेषज्ञ सेवा दिने र स्थानीय तहले आफ्नो कार्यक्रमअनुसार बजेट तथा सेवाहरु उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ।
महासंघसँग रहेको ज्ञान, अनुभव, सीपलाई साटासाट गर्दै त्यसलाई अझ बढी व्यवस्थित गर्दै उद्यमशीलता विकासका साथै पालिकाहरुलाई आत्मनिर्भर पालिका बनाउने लक्ष्यका साथ अगाडि बढ्ने महासंघले जनाएको छ। आफ्नो पालिकाको भूगोलभित्र रहेका सम्पूर्ण जनताको जीवनस्तर माथि उठाउने, आत्मनिर्भर बनाउने कर्तव्य रहेको भन्दै महासंघका अध्यक्ष श्याम गिरीले आफूहरुले यो आग्रह गर्दै आएको बताए।
'हाम्रो अभियानको मुख्य उद्देश्य भनेकै हामीसँग रहेका उद्यमशीलताका विज्ञहरुलाई पालिकासँग जोडिदिन्छौं र उद्यमशीलता र औद्योगिकीकरणमा सघाउने सम्झौताको उद्देश्य हो,’ उनले भने।
सम्झौतापत्रमा बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख दीलिपकुमार राई र महासंघका अध्यक्ष गिरीले हस्ताक्षर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।