काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भारतको नेशनल पुलिस एकेडेमीमा आयोजित कार्यक्रममा नेपालको स्मरण गरेका छन्।
सरदर बल्ल्भभाइ पटेल नेशनल पुलिस एकेडेमीमा आयोजित इन्डियन पुलिस सर्भिस (आईपीएस)का अधिकृत तथा प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्नेक्रममा मोदीले नेपालको प्रसंगसमेत उठाए। तर, उनले उठाएको प्रसंग अप्रत्यासित थियो।
उनी भारतीय प्रहरी सेवाको चर्चा गरिरहेका थिए र कोरोना महामारीविरुद्ध लड्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरिरहेका थिए। स्वतन्त्रता दिवसको कुरा उठाउँदै भारत स्वतन्त्र हुँदाको स्थितिसमेत उठाइरहेका थिए।
त्यहीक्रममा उनले नेपालको समेत प्रसंग निकाले।
भारतको प्रधानमन्त्री कार्यालयको अफिसियल ट्वीटर ह्याण्डलले त्यसक्रममा मोदीले गरेको सम्बोधन उद्धृत गर्दै ट्वीट गरेको छ, 'भुटान होस् या नेपाल, माल्दिभ्स होस् या मौरिसस, हामी मात्र छिमेकी होइनौं, हाम्रो सोच, सामाजिक संरचनामा पनि धेरै समानता छ। हामी सबै सुखदुःखका साथी हौं।'
त्यसक्रममा मोदीले एक अर्कालाई कुनै आपत वा विपत् आउँदा सबभन्दा पहिले एक अर्कालाई मद्दत गर्ने गरेको समेत उल्लेख गरे।
भारतीय सेना र प्रहरीमा नेपाली र नेपाली मुलका भारतीयले ठूलो योगदान गरेकाले पनि मोदीले सम्बोधनका क्रममा अकस्मात नेपाल सम्झेको अनुमान धेरैले गरेका छन्।
तर, कोरोना संक्रमणका बेला भ्याक्सिन आपूर्तिमा भारतले झन् कडाई गरेको भनेर नेपालमा पछिल्लो समय मोदी सरकारको आलोचना हुँदै आएको छ। सोही ट्वीटमा कतिपय नेपालीले शुक्रबार दार्चुलामा भएको घटनालाई लिएर तीब्र आलोचना गरेका छन्। उनीहरुले भारतीय अर्धसैन्य बल, एसएसबीले तुइन काटिदिँदा एक नेपाली युवा महाकालीमा बेपत्ता भएको भन्दै सो घटना छानविनको माग पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।