काठमाडौं– पूर्व युवराज पारस शाहले बीच सडकमै ट्राफिक प्रहरीसँग 'झगडा' गरेका छन्। हेल्मेट प्रयोग नगरी मोटरसाइकल चलाइरहेका बेला ट्राफिक प्रहरीले रोकेपछि उनी झगडामै उत्रिएका हुन्।
शुक्रबार साँझ काठमाडौंको महाराजगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग उनी वादविवादमा उत्रिएका हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई रोकेका थिए।
हेल्मेट नलगाइ मोटरसाइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरेपनि पारस शाह भने उल्टै वादविवादमा उत्रिएका ट्राफिक महाशाखाका एक प्रहरीको भनाइ छ।
पूर्व युवराज पारसले प्रहरीसँग झगडा गरिरहेको विषयमा केही प्रत्यक्षदर्शी (सर्वसाधारण)ले भिडियो समेत खिचेका छन्। जसमा प्रहरीले उनलाई प्रहरी कार्यालय जान भनिरहेको सुनिन्छ। तर, पारस भने 'जान्न, म जान्न, के गर्छस्?' भनिरहेका सुनिन्छ।
त्यहाँ रहेका प्रहरी कर्मचारीले सञ्चार सेटमार्फत् तालुक निकायमा खबर गर्दै गाडि पठाउन माग गरिरहेका भिडियोमा सुनिन्छ। त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हो–हल्ला गरेको पनि भिडियोमा देखिन्छ।
पारसलाई चौकी नल्याइ बाटोमै छोड्नु भन्ने आदेशपछि उनलाई कुनै कारबाही नगरी छाडिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए। 'बाटोमा सर्वसाधारणको भिड पनि बढ्ने र अनावश्यक तनाव सिर्जना हुने भन्दै माथि (महानगरीय प्रहरी परिसर काठमाडौं)बाटै छाड्नु भन्ने आदेश आयो,' महाराजगञ्ज बृत्तका ती प्रहरी कर्मचारीले भने।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले भने गल्ती स्वीकार गरी माफी मागेपछि पारस र उनका समर्थकलाई छाडिएको बताए।
'उनीहरुले ट्राफिक नियम उल्लंघन गरेको, हेल्मेट नलगाएको देखियो। त्यसबारे कानुनी रुपमा प्रक्रिया अगाडि बढ्छ नै। ट्राफिक नियम उल्लंघन गर्दा कसैलाई पक्राउ त गरिँदैन,' एआईजी पालले भने, 'ट्राफिक नियम उल्लंघन गरेका कारण पछि जरिवाना गर्ने गरी आज चाहिँ यस्तो गल्ती पछि नदोहोर्याउने भनेर छाडियो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।