काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै आजबाट जय नेपाल र नक्साल भगवती बहालमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ।
महाशाखाले जय नेपाल चोकमा काठमाडौं महानगरपालिका-१ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी ट्राफिक लाइट जडान गरेको हो।
नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा-१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले स्वीच अन गरी संयुक्तरूपमा उद्घाटन गरेका थिए। यस्तै नक्साल भगवतीको ट्राफिक लाइट महाशाखा प्रमुख भट्टराई र कुमारी बैंकका चिफ अप्रेसन अफिसर रामचन्द्र खनालले उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइँदै आएको बताए।
महाशाखाले हालसम्म उपत्यकाका मुख्य-मुख्य ३४ वटा चोकमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको जनाएको छ। ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि अन्य चोकहरुमा लाइट जडानका लागि समन्वय गर्दै जाने महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।