काठमाडौं- शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको र प्रदेश १, बागमती तथा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेकोले नदीहरुमा बाढीको जोखिम हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज कन्काई, कमला, बागमतीमा बहाव बढ्ने सम्भावना रहेको छ भने कोशी, नारायणी, कर्णाली, महाकाली र सहायक नदीहरू तथा पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने र सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ को इलाम, झापा, मोरङ, बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, धादिङ, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, लमजुङ, बाग्लुङ, कास्की, तनहुँ, स्याङ्जा, लुम्बिनी प्रदेशको रुकुम पुर्व, रोल्पा, पाल्पा, अर्घाखाँची, कर्णाली प्रदेशको रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालिकोट, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा, अछाम र आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको हुनसक्ने महाशाखाले पूर्वानुमान गरेको छ। महाशाखाले तटीय क्षेत्रहरू तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।