काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अदालतभित्र देखिएका विकृति र विसंगतिका बारेमा भर्खर प्राप्त भएको प्रतिवेदन छिट्टै सार्वजनिक हुने बताएका छन्।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन बुझ्दै समितिसमक्ष प्रधानन्यायाधीश राणाले प्रतिवेदन कार्यान्वयन गर्ने समेत प्रतिवद्धता जनाए।
‘यसअघि पनि छानबिन समितिहरु गठन भएका थिए। प्रतिवेदन निर्माण भएको थियो’ राणाले भने, ‘यो विगतमा झैं हुँदैन। लुकाइँदैन। सार्वजनिक पनि हुन्छ कार्यान्वयन पनि हुन्छ।’
समितिको प्रतिवेदन बुझाउँदै नेपाल बार एशोसिएसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठ र समितिका संयोजक न्यायाधीश कार्कीले प्रतिवेदन छिट्टै सार्वजनिक हुनुपर्ने भनेका थिए।
बारका अध्यक्ष श्रेष्ठले समितिको प्रतिवेदन छिट्टै सार्वजनिक हुने प्रतिवद्धता आफूहरुले सार्वजनिक रुपमा पनि गरेको बताएका थिए। उनको जिज्ञासाप्रति प्रधानन्यायाधीश राणाले विश्वस्त हुन भन्दै प्रतिवेदन अब कार्यान्वयनमा जाने बताए।
२०७७ साउनमा प्रधानन्यायाधीश राणाले यस्तो समिति गठन गरेका थिए। समितिको संयोजक न्यायाधीश हरिकृष्ण कार्कीलाई तोकिएको थियो। उनीसँगै न्यायाधीश प्रकाशमानसिंह राउत, नेपाल बार एशोसिएसनबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पाैडेल, महान्यायाधिवक्ता कार्यालयबाट नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय, सर्वोच्चका सहरजिष्ट्रार नारायाणप्रसाद पौडेल र सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरे रहेका थिए।
करिव एक वर्ष लगाएर समितिले प्रतिवेदन तयार गरेको थियो। समितिले प्रतिवेदनमा कानुन व्यसायी, पूर्वन्यायाधीश र पत्रकार समेतले विचौलियाको भूमिका खेलेको आरोप लगाएको छ। समितिले न्यायलयभित्र रहेका विकृति र भ्रष्टाचारका बारेमा विस्तृत रुपमा लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।