काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्मका लागि तोकिएको छ। सभापति शेरबहादुर देउवा लगायतका कांग्रेस शीर्ष नेताहरूले महाधिवेशन ‘हुन्छ, हुन्छ, हुन्छ’ भन्ने दाबी पनि गरिरहेका छन्। तर, दाबी सँगसँगै महाधिवेशन नहुने आशंका पनि बढ्दै गएको छ।
खासगरी महाधिवेशन हुन्छ भनेर दाबी गर्ने संस्थापन पक्ष नै महाधिवेशनको लागि उदासिन रहेको आरोप संस्थापन इतर समूहका नेताहरुले लगाइरहेका छन्। त्यसैप्रति लक्षित गर्दै कांग्रेसका एक शीर्ष नेताले भने, ‘महाधिवशेनमा गर्न खोजेजस्तो गर्ने तर नगर्ने सम्भावना बढी छ।’
उनले बाहिर भइरहेका चर्चालाई हेर्दा कांग्रेसको महाधिवेशन गर्नको लागि अधिकतम प्रयास भइरहेको जस्तो देखिएको भएपनि यथार्थ त्यस्तो नभएको बताए। ‘तोकिएको समयमा महाधिवेशन नहुने सम्भावना नै बढी छ,’ उनले भने।
साउन ९ गतेको शीर्ष तहका नेताको बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले समयाभाव हुने कारणलाई दोहोर्याउँदै महाधिवेशन गर्न नसकिने बताएका थिए। उनले पार्टीका सबै संरचनाको अधिवेशन सक्न निर्वाचन समितिलाई ५२ दिन बढी लाग्ने बताएका थिए।
सोहीदिन तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो। पहिले क्रियाशीलको विवाद नटुंगिएकाले महाधिवेशन गर्न कठिनाइ भनिने गरे पनि पछिल्ला दिनमा भने समयाभावले कठिनाइ हुन थालेको बताइएको छ।
त्यसो त, कांग्रेसभित्र सहमतिको महाधिवेशनको चर्चा पनि चलिरहेका छन्। त्यस खालको महाधिवेशनको केन्द्रमा पदाधिकारीको संख्या बढाउने, सहमतिमा पदाधिकारी बनाउने र दुई वर्षका लागि शेरबहादुर देउवालाई नै सभापतिमा दोहोर्याउने लगायतका विषय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।