काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको कारण अफगानिस्तानको अवस्था बिग्रिएको आरोप लगाएका छन्।
पीबीएस नेटवर्कसँगको अन्तर्वार्तामा खानले अफगानिस्तानमा अमेरिकी हस्तक्षेपको उद्देश्य र पछि अवस्था कमजोर भएपछि अमेरिका सरकारले तालिबानसँग राजनीतिक समाधान निकाल्ने प्रयास गरेको आरोप लगाएका छन्।
‘अमेरिकाले वास्तवमा अफगानिस्तानको अवस्था बिगारेको हो,’उनले भनेका छन्,‘अफगानिस्तानमा सैन्य समाधान निकाल्ने अमेरिकी प्रयास असम्भव कार्य हो।’
अमेरिका लगायत नेटोमा आवद्द केही सैनिक अफगानिस्तानबाट फिर्ता गएपछि ८५ प्रतिशतभन्दा बढी भूभागमा कब्जा गरिसकेको तालिबानहरुले दाबी गरेका छन्।
‘अफगानिस्तानमा नेटोको डेढ लाख सेना भएकै बेला अमेरिकाले राजनीतिक सम्झौता गर्न जरुरी थियो। जब उनीहरुले सेनाको संख्या १० हजारमा झारे र अफगानिस्तान छाड्ने मनसाय बनाए तालिबानले अमेरिकालाई जितेको सम्झिए,’ उनले भने।
यतिबेला अमेरिका लगायत नेटोमा आवद्ध सेनाहरु यसवर्षको सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट फर्किसक्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।