काठमाडौं- अमेरिकाको अलास्का द्वीपमा शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे अलास्काको चिगनिकभन्दा ७५ माइल्स दक्षिणी पूर्वको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ८.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस)ले जानकारी दिएको हो।
यो भूकम्पको केन्दै जमिनको सतहभन्दा ७० किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
सन् १९९० यता अलास्का क्षेत्रमा ८.२ म्याग्नेच्यूडका वा सोभन्दा माथिका १७ भूकम्प मापन भइसकेको युएसजिएसले जनाएको छ।
भूकम्पपछि अलास्काको नेशनल सुनामी वार्निङ सेन्टर (एनटीडब्ल्यूसी)ले राज्यको दक्षिण भागमा सुनामीको चेतावनी दिएको छ। दक्षिण अलास्का प्रायद्वीप र एउटियन टापुमा बस्नेहरूको लागि सो चेतावनी जारी गरिएको हो।
हवाईमा पनि सुनामीको चेतावनी दिइएको छ। सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्।
‘भूकम्पको धक्का महसुस भएको कोडियाक शहरमा सुनामीको खतराको संकेत दिने साइरन बजेको थियो। यहाँका मानिसहरू माथिल्ला क्षेत्रमा भागेका थिए,’ एक स्थानियले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।