काठमाडौं- नेपाली कांग्रेसले नयाँ र नवीकरण गरिएका क्रियाशील सदस्यताबाट पार्टी कोषमा साढे २१ करोड रुपैयाँ थपेको छ। पार्टीको खातामा नवीकरण गरिएका भन्दा नयाँ क्रियाशील सदस्यबाट बढी रकम थपिएको हो।
नयाँ र नवीकरणबाट गरी २१ करोड ४९ लाख १० हजार रुपैयाँ कांग्रेसको खातामा थपिएको छ। गत मंगलबारसम्म टुंगिएको क्रियाशील सदस्यताको आधारमा ८ लाख ५२ हजार ७११ जना सदस्य बनेका छन्। थपिएकामा नयाँ क्रियाशीलको संख्या ४ लाख ४३ हजार ६७८ जना छन्। नयाँ क्रियाशील सदस्य बन्नका लागि तीन सय रुपैयाँ तोकिएको थियो। नयाँबाट १३ करोड ३१ लाख तीन हजार ४०० रुपैयाँ कांग्रेसको खातामा थपिएको छ।
पुराना सदस्य मध्ये ४ लाख ९ हजार ३३ जनाले सदस्यता नवीकरण गरेका थिए। नवीकरणका लागि प्रति व्यक्ति दुई सय तोकिएको थियो। त्यसअनुसार पुराना सदस्यबाट नवीकरण वापत ८ करोड १८ लाख ६ हजार ६०० रुपैयाँ कांग्रेसको खातामा थपिएको छ। हालसम्म विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशील सदस्य थपिएको छैन।
सबैभन्दा बढी क्रियाशील सदस्य बागमती प्रदेशबाट सूचीकृत भएका छन्। क्रियाशील छानबिन समितिले निकालेको संख्या अनुसार बागमती प्रदेशबाट १ लाख ८६ हजार १४३ जना सूचीकृत भएका छन्। दोस्रो स्थानमा प्रदेश १ बाट थपिएका छन्। उक्त प्रदेशबाट १ लाख ७४ हजार ७८२ जना क्रियाशील सदस्य बनेका छन्। तेस्रो स्थानमा लुम्बिनीका छन्। लुम्बिनीमा क्रियाशील सदस्य १ लाख ३० हजार ८८५ जना छन्।
प्रदेश २ मा १ लाख १२ हजार ९४६ जना, सुदूरपश्चिममा ७४ हजार ७५६ र कर्णालीमा सबैभन्दा कम ५४ हजार ५६६ जना क्रियाशील सदस्य छन्।
पार्टीले १० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य बनाएको थियो। विवादित जिल्ला र वडाबाट केही संख्या थपिन सक्ने सम्भावना रहेपनि लक्ष्य गरिएको अंक नपुग्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।