काठमाडौं- ओलम्पिक खेलकुद प्रतियोगिता भइरहेकाे जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन्।
सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ संक्रमित थपिएका छन्। टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ संक्रमित थपिएको अहिले पहिलोपटक भएको जनाएको छ।
गतवर्ष सन् २०२० मा हुनुपर्ने ओलम्पिक खेलकुद प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले भइरहेको हो।
महामारीका बीचमा भइरहेको खेलकुद प्रतियोगिताका कारण टोकियोमा महामारी थप फैलिने खतरा देखिँदै गएको छ।
जापानको केन्द्रीय सरकारले यही जुलाई १२ देखि अगस्ट २२ सम्मका लागि टोकियोमा चौथो चरणको सङ्कटकाल लागू गरेको छ।
टोकियोका बार तथा रेस्टुरेन्टहरूमा मादक पदार्थ विक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ भने बेलुका सबेरै बन्द गरिएको छ।
ओलम्पिक खेलकुद प्रतियोगिताका लागि लाखौँ खेलाडी, खेल पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीहरू टोकियोमा भेला भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।