काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा इराकमा रहेका अमेरिकी सेनालाई फिर्ता बोलाइने बताएका छन्। तर इराकी सेनालाई प्रशिक्षण र सल्लाह दिने काम भने निरन्तर हुनेछ।
इराकका प्रधानमन्त्री मुस्तफा अल-कधीमिसँग व्हाइट हाउसमा भएको कुराकानीपछि बाइडेनले यस्तो घोषणा गरेका हुन्।
इराकमा अहिलेले २ हजार ५ सय अमेरिकी सैनिक छन् जो स्थानीय सुरक्षाबलसँग मिलेर चरमपन्थी संगठन इस्लामिक स्टेटविरुद्धको लडाइमा सहयोग गरिरहेका छन्।
अमेरिकी सैनिकको संख्या यति नै रहिरहने सम्भावना छ तर यस कदमलाई इराकी प्रधानमन्त्रीलाई गरिएको सहयोगको रुपमा हेरिएको बीबीसीले जनाएको छ।
पछिल्लो वर्ष इराकको राजधानी बगदादमा एक अमेरिकी ड्रोन हमलामा इरानका जनरल कासिम सुलेमानीको हत्यापछि इराकमा अमेरिकी सेनाको उपस्थिति ठूलो विषय बनेको छ।
इरानतर्फ झुकाव राख्ने राजनीतिक दलले इस्लामिक स्टेटको खतराका बावजुद अमेरिकी र उसको सहयोगी सेना फिर्ताको माग गरिरहेका छन्।
अमेरिकी राष्ट्रपतिको यो घोषणा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यकालमा सुरु गरिएको एक अर्को लडाइको अन्त्य हो। यस वर्ष अमेरिका अफगानिस्तानबाट पनि आफ्नो सेनालाई फिर्ता बोलाउँदै छ।
व्हाइट हाउसमा बोल्दै बाइडेनले भने, "यो नयाँ चरणमा प्रवेश गरेपनि हाम्रो आतंकवाद विरोधी सहयोग जारी रहेनछ।"
बैठक पछि प्रधानमन्त्री कधीमिले भने, “आज हाम्रो सम्बन्ध पहिला भन्दा निकै मजबुत भएको छ। हाम्रो सहयोग अर्थव्यवस्था, पर्यावरण, स्वास्थ्य, शिक्षा, संस्कृति आदिका लागि हो”उनले जोड दिएर भने, 'यसका लागि इराकमा कुनै विदेश सेनाको आवश्यकता पर्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।