काठमाडौं– लुगाले कोरोना संक्रमण रोक्ने दाबी गर्दै आएको कम्पनीले ५० लाख अस्ट्रेलियाली डलर जरिवाना तिरेको छ।
लोर्ना जेन नामक कम्पनीलाई भ्रामक विज्ञापन गरिएको भन्दै संघीय अदालतको आदेशानुसार ५० लाख अस्ट्रेलियाली डलर जरिवाना तिराइएको सञ्चारमाध्यमले जनाएका छन्।
कम्पनीले अस्ट्रेलियामा व्यायाम तथा खेलकुदमा प्रयोग हुने लुगा बनाउने गर्दछ। लुगाले कोरोनाभाइरस नाश गरेको तथा कोभिड– १९ को विस्तारलाई रोकेको दाबी गरेका कारण कम्पनीले जरिवाना तिर्नुपरेको समाचारहरुमा उल्लेख छ।
कम्पनीले सबै रोगका कीटाणुको विस्तार रोक्न आफ्नो लुगामा एलजे शिल्ड नामक प्रविधि प्रयोग गरिएको भन्दै विज्ञापन गरेको थियो।
संघीय अदालतका न्यायाधीशले आफ्नो आदेशमा उक्त कम्पनीको दाबी हिंस्रक र खतरनाक भएको उल्लेख गरेका छन्।
कम्पनीले अदालतको आदेश स्वीकार गर्ने बताउँदै आफूलाई प्रविधि आपूर्तिकर्ताले झुक्याएको दाबी गरेको छ। कम्पनीले अस्ट्रेलियाका साथै न्यूजील्यान्ड, अमेरिका र सिंगापुरमा आउटलेटमार्फत आफ्ना उत्पादन विक्री गर्दै आएको छ।
अदालतले कम्पनीलाई आफ्नो विज्ञापन सच्याएर सूचना प्रकाशित गर्न पनि आदेश दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।