काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। आइतबार गृह मन्त्रालयमा बसेको बैठकमा आन्तरिक सुरक्षा चुनौतीका विभिन्न विषयबारे छलफल भएको हो।
गृहमन्त्री खाणको नेतृत्वमा बसेको बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख गणेश अधिकारी, रक्षा मन्त्रालयका सह-सचिव (कायमुकायम सचिव) आलोकचन्द्र श्रेष्ठ ,गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायतको सहभागिता रहेको थियो।
बैठकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ। सहभागीहरुले तेस्रो लहर बढ्ने जोखिम उच्च रहेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
यस्तै, स्वास्थ्य सामग्रीको सहज व्यवस्थापन तथा कालो बजारीलाई नियत्रण गर्ने, बाढी, पहिरो र डुबानमा परेका घरपरिवारको उद्धार तथा राहत वितरण र प्रकोप नियन्त्रणका विषयमा पनि छलफल भएको जनाइएको छ।
केन्द्रीय सुरक्षा समितिको बैठकमा साइबर क्राइम बढेको विषयमा पनि चर्चा भएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ। बढ्दो साइबर क्राइम नियन्त्रणका लागि सरोकारवाला निकायले सक्रियता बढाउने विषयमा छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।