काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा दलित समुदायलाई पन्छ्याइनु दूर्भाग्यपूर्ण भएको बताएका छन्।
नेपाली कांग्रेसबाट ३ जना मन्त्री समेत थपेर सरकारलाई पूर्णता दिने क्रममा दलित समुदायका डोबाटे विश्वकर्माको नाम काटेर पोखराका व्यवसायी समेत रहेका प्रदेश सभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो।
नेता कोइरालाले विश्वर्मालाई पन्छ्याएर अर्कै व्यक्तिलाई मन्त्री बनाइनुले कांग्रेस पार्टीलाई नै दु:खित बनाएको बताएका छन्।
'सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दु:खित बनाएको छ,' सामाजिक सञ्जालमा एक सन्देश लेख्दै नेता कोइरालाले भनेका छन्, 'त्यति मात्र नभइ सिंगो दलित समुदाय, जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शीर निहुरिएको छ।'
भोलिका दिनमा यस्ता निर्णयहरु पार्टीका निम्ती निकै महंगो पर्न जाने भन्दै नेता कोइरालाले दलित समुदायका व्यक्तिको ठाउँमा अर्का व्यक्ति (व्यापारी)लाई मन्त्री बनाइने कदम तुरुन्तै सच्याउनुपर्ने पनि माग गरेका छन्।
'भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ? सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो,' कोइरालले सामाजि सञ्जालको सन्देशमा भनेका छन्, 'वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिँदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ।'
शुक्रबार गण्डकी प्रदेश सरकारमा कांग्रेसबाट ३ जना मन्त्री थपिएका थिए। तीनै जना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सांसद विश्वकर्माको नाम अन्तिम समयमा काटिएको थियो। उनको स्थानमा पोखराका थापालाई मन्त्री बनाइएको थियो।
पोखराका व्यापारी समेत रहेका थापाले सभापति देउवा पोखरा जाँदा बसाइ तथा खर्चको व्यवस्थापन गर्दै आएको बताइन्छ। केन्द्रको दबाबमा विश्वकर्मालाई हटाएर थापाको नाम राखिएको संस्थापनइतरका नेताहरुको बुझाइ छ।
नेता विश्वकर्माले शुरुमा आफूलाई मन्त्री बनाउने भनेर 'शपथको तयारी गर्न' भनिए पनि अन्तिममा आएर आफ्नो नाम काटिएको बताएका थिए।
'पार्टीभित्र स्पष्ट दुई खेमा छ। मलाई पौडेल पक्ष भनेर नै मन्त्री हुनबाट बञ्चित गरिएको होला,’ शुक्रबार विश्वकर्माले नेपाल लाइभसँग भनेका थिए,‘यो त अन्याय नै भएको हो नि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।