काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।
दुई नेताबीच शनिबार बिहान कोटेश्वरस्थित नेता नेपालको निवासमा भेटवार्ता भएको हो।
शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहभागी हुनु अघि प्रचण्ड नेता नेपालको निवासमा पुगेका थिए। आफू नेता नेपालसँग छलफल गरेर आएको प्रचण्डले कार्यक्रममा जानकारी दिए।
सत्ताबाट बाहिरिएसँगै केपी शर्मा ओली विक्षिप्त बनेको प्रचण्डको भनाइ थियो। 'केपी ओली अहिले विक्षिप्त छन्। कहिले बालकोटको बार्दलीमा छटपटाउछन्। उनको यो छटपटाहट धेरै दिन रहन्न' प्रचण्डले भने।
नेता नेपालले शुक्रबार ओलीप्रति सही व्यङ्ग्य गरेको प्रचण्डले बताए। आफूले माधव नेपाललाई धन्यवाद नै दिएको उनले सुनाए। 'माधवजीले ओलीलाई महाराज भनेर बडो सुन्दर व्यंग्य गर्नु भो, मैले उहाँलाई धन्यवाद भनें' प्रचण्डको भनाइ थियो।
ओलीले स्पष्टीकरण सोधिएका सांसद्लाई ‘माफी दिइएको छ’ भन्ने अभिव्यक्ति दिएको भोलिपल्टै वरिष्ठ नेता माधव कुमार नेपालले ओलीलाई महाराजधिराज भन्दै आफूहरु माफी पाएर गद्गद् भएको बताएका थिए।
‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो- माधव नेपाल लगायत माननीय सदस्यहरुमाथि सोधिएको स्पष्टीकरण छ, त्यसलाई आम माफी दिइन्छ। एम्नेस्टी इज ग्रान्टेड। हामी कति गदगद भयौं। महाराजधिराज उवाच। हामी गदगद् भयौं। वाह वाह वाह। महाराजधिराज कति खुसी भएछन्। हामीलाई आम माफी मिलेछ। नाच्नुपर्ने भयो। खुसी हुनुपर्ने भयो’, नेपालको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।