काठमाडाैं- नेकपा एमालेका नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्स जस्ता संगठनकाे औचित्य नरहेको भन्दै तत्काल खारेज गर्न आग्रह गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले युथ र अखिल फोर्स संगठन ब्यूँताउन थालेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्ताे आग्रह गरेका हुन्।
नेपालमा हरेक निरंकुश शासकहरूलाई फाल्ने क्षमता पुर्याएका अनेरास्ववियु र युवा संघ जस्ता संगठनलाई ओझेलमा राखेर बाहुबली जत्था प्रयोग गरेर राजनीतिलाई अपराधीकरण खोजेको उनकाे आराेप छ।
‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलनको अग्रभागमा भूमिका खेलेका, हजारौँ युवाहरुलाई राजनीतिक/वैचारिक शिक्षामार्फत् पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमताका अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर बनाइएका युथ फोर्स र अखिल फोर्सको औचित्य के छ?,’ उनले भनेका छन्,‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत् यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नुपर्दछ।’
यदि यी जत्था एकअर्कासँग भिडाउन खोजेको हो भने ओली-नेपालले कम्युनिष्ट आन्दोलनको चिहान आफैंले खनिरहेको स्वीकार्न गर्नुपर्ने उनले बताएका छन्।
‘शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्य स्वीकार्ने, फरक मतलाई फक्रिन दिने जस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुसरण गरेको एमालेका लागि यो सुहाउने काम होइन,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।