काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा (५) किन लेखिएको हो? भन्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रश्न गरेका छन्।
शुक्रबार प्रतिनिध सभा बैठकमा बोल्ने क्रममा नेम्वाङले गरेको टिप्पणीप्रति संकेत गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रश्न गरेका हुन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेम्वाङले संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका सन्दर्भमा सर्वोच्च अदालतले गरेको व्याख्याले निर्दलीय व्यवस्था ल्याउने र दलीय प्रतिस्पर्धा समाप्त हुने जिकिर गरेका थिए।
प्रतिनिधि सभा बैठकमा बोल्दै नेम्वाङले प्रधानमन्त्री देउवाले आफ्नो दलका सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेर ह्वीप लगाउने, तर अरु दलका सांसद लगेर प्रधानमन्त्री हुने गैर संसदीय कार्य गरेको आरोप समेत लगाएका थिए।
नेम्वाङले देउवा संविधान र जनमतभन्दा पनि अदालतको परमादेशको प्रधानमन्त्री भएको टिप्पणी पनि गरेका थिए ।
नेम्वाङको टिप्पणीप्रति जवाफ दिँदै प्रधानमन्त्री देउवाले उनलाई उल्टै धारा ७६(५) किन लेखिएको भनेर प्रश्न गरे। ‘यो संविधानमा धारा ७६ को उपधारा ५ किन लेखेकिएको हो? तपाईं नै हो संविधान सभाको अध्यक्ष र सभामुख पनि। किन गरियो यो व्यवस्था ? ’ देउवाले प्रश्न गरे।
रास्ट्रपतिले बहुमत पुर्याएर आउनु भनेपछि १४९ जनाको हस्ताक्षर लिएर गएको, तर राष्ट्रपतिले त्यसलाई कार्यान्वयन नगरेपछि अदालत जानु परेको देउवाले प्रष्ट पारे।
सर्वोच्चले संविधानको व्याख्या मात्रै गरेको भन्दै देउवाले यसमा कसैले सत्ता बाहिर जान पर्यो भनेर दु:खी हुन आवश्यक नभएको बताए ।
देउवाले आफूले आफ्नो दलका सांसदहरुलाई ह्वीप नलगाएको पनि स्पष्ट पारे। ‘हामीले ह्वीप जारी गरेका होइनौं। असंवैधानिक कदमको विरुद्धमा आन्दोलन गरेका हौं। आन्दोलन गर्नु ह्वीप होइन,’ देउवाले भने।
प्रतिनिधि सभा किन विघटन भयो भनेर स्पष्टीकरण दिनुपर्ने ठाउँमा उल्टै ह्वी जारी गरेको आरोप लगाउने काम भएको देउवाले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।