काठमाडौं- राष्ट्रिय सभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ।
प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गर्नुभएको हो। राष्ट्रियसभाको अर्काे बैठक यही साउन १२ गते अपराह्न १ः०० बजे बस्नेछ।
राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिए। राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तरराष्ट्रिय सीमालाई व्यवस्थित गर्न, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र दल विशेषका कार्यक्रम प्रधानमन्त्री निवासमा नगर्न सल्लाह दिए।
नेपाली कांग्रेसका प्रकाश पन्थले भाषण नभई विकासका आयोजनालाई लक्षित गर्न, मजदूर र किसानलाई लक्षित कार्यक्रम बनाउन, सरकारी निवासमा पार्टीको कार्यक्रम नराख्न, सीमा चुस्त दुरुस्त बनाउन, खोपलाई व्यवस्थित गर्न तथा आर्थिक अनियमितताको छानविन गर्न माग गरे।
नेकपा (एमाले) का खिमलाल भट्टराईले मुलुकको राजनीतिक परिवर्तनका अग्रणी बिपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै हालसम्म प्राप्त उपलब्धिमाथि अबका दिनमा प्रहार हुने हो की भन्ने आशङ्का बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।