काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले विश्वासको मत दिनका लागि सांसदलाई ह्वीप नलगाएको बताएका छन्। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले आह्वान गरेपछि बहुमत सांसदको हस्ताक्षर लिएर आफूहरु गएको र मत दिनका लागि एमाले सांसदहरुलाई अनुरोधमात्र गरिएको बताए।
शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले बधाई दिएपछि धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफूहरूले सांसदलाई ह्वीप नलगाएको दाबी गरे।
नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो दलका सांसदलाई ह्वीप लगाउने तर, अर्को दलका सांसदलाई ह्वीप नलाग्ने कस्तो व्यवस्था हो? भन्दै प्रश्न गरेपछि देउवाले आफूहरुले ह्वीप नलगाएको स्पष्टीकरण दिए।
‘राष्ट्रपति स्वयंले धारा ७६ (५) अनुसार सांसदले बहुमत पुर्याउन आह्वान गरेको हो। आह्वान अनुसार बहुमत सदस्यको सनाखत लिएर गएको हो,’ देउवाले भने, ‘संविधानमा त्यो किन लेखिएको थियो भन्ने कुरा पूर्व सभामुखज्यूलाई थाहा छ। हामीले अनिवार्य भनेको होइन, एमालेका साथीहरूलाई अनुरोध गरेका हौं, संविधानअनुसार अनुरोध गर्न पाइन्न भन्ने कहाँको नियम हो?’
देउवाले जनतामा देखिने खालका काम गर्ने सरकारको प्राथमिकता रहेको बताए। अहिले कोरोनाविरूद्धको खोप ल्याउनु सरकारको मुख्य चुनौती रहेको भन्दै देउवाले जति महँगो भएपनि किनेर खोप ल्याउने प्रतिबद्धता जनाए। ऋण होस् वा सापट मागेर, जति महँगो भए पनि किनेर नेपाली जनतालाई खोप पुर्याइने देउवाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।