काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण'ले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल उदार स्वभावको भएपनि ‘मबाहेक दुनियाँमा कोही छैन’भन्ने स्वभाव केपी ओलीमा भएको टिप्पणी गरेका छन्।
शुक्रबार पुष्पलाल मित्रता केन्द्रको आयोजनामा तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा महासचिव वैद्यले पार्टी विभाजनमा नेतृत्वको व्यक्तिगत अहंले पनि काम गर्ने भन्दै त्यसको उदाहरण नेकपाबाट हेर्न सकिने बताए।
ओलीमा स्वेच्छाचारी र तानाशाही प्रवृत्ति रहेको भन्दै नेकपामा सिद्धान्तको भन्दा पनि इगोको समस्या आएको उनको विश्लेषण छ। 'ओलीजीमा अलि स्वेच्छाचारी प्रवृत्ति छ। तानाशाही प्रवृत्ति रहेको छ। मै सर्वेसर्वा हो भन्ने छ। तर उहाँहरुबीच सिद्धान्तमा फरक होइन। इगो टक्कर आयो' वैद्यले भने, 'उहाँहरुलाई प्रधानमन्त्री हुनुपर्ने। दुबै जनालाई प्रधानमन्त्री हुनुपर्ने। आलोपालोको कुरा आयो। त्यो के सिद्धान्त हो? एउटा पार्टीबाट एउटै प्रधानमन्त्री भए हुन्थ्यो नि। किन आलोपालो गर्नुपरेको।'
'सारतः फरकचाहिँ इगोमा फरक पर्यो। टक्कर आयो। माधव कमरेड अलि उदार हुनुहुन्छ। प्रचण्ड पनि अलि उदार हुनुहुन्छ। तर ओलीजी त एकदम ‘मभन्दा बाहेक दुनियाँमा कोही छैन’ भन्ने हुनुहुन्छ। उहाँको त्यो शैलीले काम गर्यो' वैद्यले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।