काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेसम्म बनेका संविधानहरुमध्ये तुलनात्मक रुपमा वर्तमान संविधान प्रगतिशील रहेको बताएका छन्। आफूहरुले संविधानमा रहेको संघीयताबारे विमति जनाएको भएपनि संविधानमा संघीयता मात्र नभएर अन्य धेरै कुराहरु रहेको र त्यसलाई आफूहरुले स्वीकार गरेको बताए।
शुक्रबार पुष्पलाल मित्रता केन्द्रको आयोजनामा तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष केसीले अन्य दललाई पनि संघीयताले 'कोपरेको होला नि?' भन्दै प्रश्न गरे।
नेता केसीले संविधानमा धारा ७६ (५) को व्यवस्था नगरेको भए नेपाली जनताले यतिबेला कोरोनाको खोप लगाउन नपाउने बताए। खोप मागिरहेका नेपालीलाई सरकार प्रमुख र राष्ट्रप्रमुखले मतपत्र दिन खोजेको उनको भनाइ थियो। अहिलेसम्म तीस लाख जनताले पहिलो खोप लगाएको र ११ लाखले दोस्रो खोप लगाएको उनले बताए।
बुर्जुवाको सट्टा कम्युनिस्ट पार्टीको नेतृत्व पाइएको भएपनि आफैंले समर्थन गरेको सरकारलाई फाल्नुपरेको उनको भनाइ थियो। 'तपाईंको तिघ्रामा पिप जम्मा भयो भनेर निचोरेर फाल्नुपर्यो' उनले भने।
नेकपा एमालेका सांसदहरुले संघर्षको झन्डा उठाएका कारण संविधानका उपलब्धि बचाउन सकिएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।