काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् सांसद प्रकाशमान सिंहले सत्तामा हुँदा विधि नमान्नेहरुले सत्ताबाट बाहिरिएर प्रतिपक्षमा बस्दा विधिको कुरा गर्न नसुहाउने टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता सिंहले सत्तामा बस्दा प्रतिनिधि सभा विघटन गर्दा विधि पालना नगर्नेहरुले अहिले विधिका कुरा गर्ने मिल्छ भन्दै प्रश्न गरे।
प्रतिपक्षमा पुगेको नेकपा एमालेले शेरबहादुर देउवा सर्वोच्चको परमादेशबाट बनेको प्रधानमन्त्री भएको भनेर गरेको टिप्पणीप्रति नेता सिंहले आपत्ति जनाए।
‘कानुन बनाउँदा विज्ञ बन्ने, संविधान ड्राफ्ट गर्दा धारा ७६ को (५) राख्ने अनि अहिले संसदीय अभ्यास, कल्चर र भ्यालुको कुरा गर्न मिल्छ ? ’ सिंहले भने, 'प्रतिनिधि सभा विघटन गर्दा र सत्तामा बस्दा विधि पालना नगर्ने, अनि अहिले जनताको जनादेश होइन परमादेशबाट भयो भनेर के पाउनुहुन्छ ?'
बहुमत प्राप्त व्यक्तिले विधि र प्रक्रिया नमान्दा कमजोर मानिस सत्तामा आउनुपर्छ भन्ने सन्देश प्रवाह भएको नेता सिंहले टिप्पणी गरे।
एमाले नेतृत्वको पूर्ववर्ती सरकार र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग गर्दै नेता सिंहले चुच्चे रेल, पानी जहाज, हाइवेमा रनवे बनिसकेकाले प्रधानमन्त्री देउवालाई सहज नै भएको बताए। 'केपी शर्मा ओलीले चुच्चे रेल, पानी जाहाज, हाइवेमा रन वे बनाइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सजह नै भएको छ,' सिंहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।