काठमाडौं- नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै प्रश्न उठाएका छन्। एमाले विभाजन गर्नका लागि अध्यादेश जारी गर्ने तयारी भइरहेको भन्दै बजार हल्ला चलेको उनको भनाइ थियो।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भाग लिँदै नेम्वाङले सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश नल्याउनेमा आफू विश्वस्त भएको बताए।
‘यो सरकार बनेपछि हल्ला अनेक चल्छन्। तर हामी संसदमा हल्लामा विश्वास गर्दैनौं। अब यो प्रतिनिधि सभा समापनमा जादैँछ भन्ने सुनेँ। चाँडै अध्यादेश ल्याउने चर्चा सुनेको छु’नेम्वाङले भने,‘हामीले अध्यादेश ल्याउँदा गरेको आलोचना सम्झेर यो गलत हो भन्ने मलाई लागेको छ। पहिलो दिन नै अध्यादेशको विरोध गर्नेले यो नगर्नेमा म विश्वस्त छु।’
सरकारले पूर्णता पाउनुपर्ने भन्दै उनले स्वास्थ्य मन्त्रालयलगायत अहिलेसम्म किन विस्तारित हुन सकेको छैन भनि प्रश्न गर्दै प्रधानमन्त्रीलाई सफलताको शुभकामना दिन चाहेको बताए। उनले संविधानले २५ भन्दा बढी मन्त्री बनाउन रोक लगाएको स्मरण गराए।
उनले अदालतको आदेशबाट सरकार आएको भन्दै 'समय नपुगी जन्मेको बच्चाजस्तो कमजोर' नहोस् भन्दै सरकारलाई सहयोग गर्न तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।