काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरण तथा समायोजनका नाममा व्यापक अनियमितता भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
शीर्ष तहका नेताबीच विहान भएको छलफलका क्रममा पौडेलले जिल्ला जिल्लामा व्यापक अनियमितता भएको गुनासो सभापति शेरबहादुर देउवालाई सुनाएका छन्। बैठकमा उनले भने, ‘प्रक्रिया र विधान मिचेर क्रियाशील सदस्यता वितरण भएको छ। समयोजनका लागि बनाइएको मापदण्ड लागु भएको छैन।’ पौडेलले केही जिल्लाको उदाहरण समेत प्रस्तुत गरेका थिए।
बैठकको प्रारम्भमा बोल्ने क्रममा सभापति देउवाले तोकिएकै समयमा महाधिवेशन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। महाधिवेशन केन्द्रित रहेर पार्टीको तयारीका सन्दर्भमा महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी गराएका थिए।
क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले समितिले सकेका कार्य,अप्ठ्यारा, सहमति/असहमति लगायतका विषय सुनाएका थिए।
समितिका संयोजक लेखकले एक/दुई दिन भित्रमा समितिले आफ्नो कार्य सकेर नामावली बुझाउने जानकारी गराएका थिए।
निर्वाचन संयोजक महादेव यादवले अहिलेको परिस्थितिमा निर्वाचन गर्न लाग्ने समय र जटिलताका बारेमा आफ्ना धारणा सुनाएका थिए।
महाधिवेशन गर्न सकिने नयाँ मोडालिटी तथा समयमा महाधिवेशन हुन सकेन भने त्यसले ल्याउने कानुनी जटिलता र समाधानबारे उनले नेताहरुलाई अवगत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।