काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा जनादेश प्राप्त नभएको अवस्थामा सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई शुभकामना दिन उभिएका नेम्वाङले पहिलोपटक सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री प्राप्त भएको टिप्पीण पनि गरे।
‘पहिलो पटक संसदबाट होइन, जनताको जनादेशबाट होइन, सम्मानित सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री प्राप्त गरेका छौं,' नेम्वाङले भने ‘मैले यता उतिबाट होइन, यर्थाथ राखेको हो ।’
अदालतले धेरैवटा कुरामा प्रश्न उठाएको भन्दै उनले आउने दिनमा देशमा कस्तो परम्परा बसाउने र कता लैजाने भनेर प्रधानमन्त्रीले पहल गर्नुपर्ने पनि बताए।
'हामीले फेरि एकपटक प्रमाणीत गरेका छौं कि देशमा जनता बलियो भएका छन्। संविधान सभाले बनाएको संविधान छ त्यसैले त्यसअन्तर्गतको प्रतिनिधि सभा, राष्ट्रिय सभा र न्यायपालिका लगायतका संस्थाहरु क्रियाशिल भएका छन्,' नेम्वाङले भने। कतिपय कुरामा सहमति वा सहमत हुन सक्ने भएपनि देशमा देश कुनै पनि अवस्थामा पछाडि फर्केर जान नसक्ने नेम्वाङले बताए।
‘मैले यही हाउसमा उभिएर भनेको छु गलत सन्देश नदिउँ, जनता निराश हुनेछन् । केही भएको छैन, अहिले हामी फेरि यही सभामा उभिएका छौं। प्रतिनिधि सभा विघटनमा फरक–फरक धाराणा हुनसक्छ। फरक भएर नै बेग्लै बैग्लै दलमा संगठित छौं,' नेम्वाङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।