काठमाडौं- ट्युनिसियाको सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ‘स्वास्थ प्रणाली कोल्याप्स’ भएको घोषणा गरेको छ।
कोरोनाको नयाँ भेरियन्ट डेल्टाका संक्रमित बढ्दै गएपछि अस्पतालका आईसीयु बेडहरु बिरामीले भरिएका छन् र अक्सिजन आपूर्तिका लागि अस्पतालहरुले संघर्ष गरिरहनुपरेको छ।
स्थास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै यहाँ २ सय ५ जनाको मृत्यु भएको छ। सोही अवधिमा ६ हजार ७ सय ८७ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्यमन्त्री नासिफ बिन अलायाले महामारीविरुद्ध लड्नका लागि एक भएर प्रयास गर्न सम्पूर्ण जनतामा आग्रह गरेका छन्।
‘देशमा डेल्टा भेरियन्ट तिव्र रुपमा फैलिरहेको छ। आईसीयु बेडहरु बिरामीले भरिएका छन् र अक्सिजन आपूर्तिका लागि अस्पतालहरुले संघर्ष गरिरहनुपरेको छ। यस्तो परिस्थितमा एक भएर लड्न खाँचो छ,’ उनले भने।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार ५ लाख ३३ हजार २ सय ७४ जना संक्रमण देखिइसकेको छ। त्यस्तै, १७ हजार २ सय १४ जनाको मृत्यु भइसकेको छ।
सरकारी तथ्याङ्क अनुसार ट्युनिसियामा केवल १३ प्रतिशत जनताले मात्रै कोरोनाविरुद्धको खोपको एक डोज पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।