GETTY IMAGES
काठमाडाैं- जर्मनी र बेल्जियममा अत्याधिक वर्षासँगै आएको बाढीका कारण मृत्यु हुनेको संख्या १५० नाघेको छ। घटनामा बाढीपछि सयौं व्यक्ति बेपत्ता भएका छन्।
बीबीसीका अनुसार जर्मनीमा मात्रै १३३ भन्दा बढीको मृत्यु भएको छ। जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ। यस प्रकोपबाट नर्थ राइनेमा ९० जनाको मृत्यु भएका छ।
यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए।
नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन्।
बाढीले सडकमार्ग अवरुद्ध बनाएको छ भने फोन नेटवर्क बन्द भएकाे कारण बाढीग्रस्त क्षेत्रमा उद्धारकार्य प्रभावित भएको छ।
यस्तै, एक लाखभन्दा बढी घरहरु बिजुलीविहीन भएका छन्। यद्यपि, बाढी गएको क्षेत्रमा प्रहरी र सेना परिचालन गरि उद्धारको कार्य भइरहेको छ।
जर्मन चान्सलर एन्जेला मार्केलले बाढी प्रभावितहरुलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन निर्देशन दिएकी छिन्।
यता, बेल्जियमका प्रधानमन्त्री एलेक्जेन्डर डि क्रुले २० जुलाईमा देशभर शोक मनाउने घाेषणा गरेका छन्। बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको संख्या बढी रहेको बताइएको छ।
बेल्जियमका चार राज्य बाढीका कारण प्रभावित बनेकाे छ। उक्त राज्यमा उद्धार र राहत कार्यलाई तिब्रता दिन सेना परिचालन गरिएको छ।
यस्तै, स्विटजर्ल्यान्ड, लक्समबर्ग र नेडरल्यान्डस्मा पनि वर्षा हुने क्रम जारी छ। युरोपको अन्य पूर्वी क्षेत्र पनि अत्याधिक वर्षासँगै बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ।
युरोपियन नेताहरुले जलवायु परिवर्तनका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।