काठमाडौं– विश्वकप फुटबल इतिहासमा सवैभन्दा सफल टिम हो, ब्राजिल। सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिल सवै विश्वकपमा सहभागी हुने एक्लो टिम हो। त्यसैले ब्राजिललाई हरेक विश्वकपमा उपाधि दाबेदारको रुपमा हेरिने गरिन्छ।
ब्राजिलले पछिल्लो पटक सन् २००२ मा उपाधि जितेको थियो। त्यसयताका तीन विश्वकपमा ब्राजिलले फाइनल यात्रा तय गर्न सकेको छैन। सन् २००६ र २०१० को विश्वकपमा ब्राजिल क्वार्टफाइनलबाटै घर फर्कन बाध्य भयो। सन् २०१४ मा घरेलु भूमीमा आयोजना भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा पराजित भएको थियो। सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलले घरेलु दर्शकका अगाडि पराजित भएको क्षण ब्राजिलका लागि पीडादायी क्षण थियो।
यसपटक पनि ब्राजिलको एउटै लक्ष्य उपाधि जित्ने रहेको छ। जेठ ३१ देखि रसियामा हुने विश्वकपमा ब्राजिल समूह 'ई' मा छ। समूहमा ब्राजिलसँगै स्विट्जरल्यान्ड, कोस्टारिका र सर्विया छन्। ब्राजिलले पहिलो खेल जुन १७ मा स्विट्जरल्यान्डसँग खेल्नेछ।
समूह चरणमा तुलनात्मक रुपमा सजिलो प्रतिद्वन्द्वी पाएको ब्राजिलका लागि खुसीको खबर भनेको नेइमार टिममा फर्किएका छन्। फ्रेन्च क्लब पिएसजीमा आवद्ध नेइमारको खुट्टाको शल्यक्रिया पछि टिममा फर्किएका हुन्। अनुभवी राइट ब्याक डानी अल्भेसले भने चोटका कारण विश्वकप गुमाउँदैछन्।
ब्राजिलियन टिममा विश्वमा प्रभाव जमाएका खेलाडी छन्। मार्सेलो, डानिलो, मिरान्डा जस्ता विश्व चर्चित डिफेन्डर ब्राजिलको टिममा छन्। विलियम, फर्डिनान्डो, कासेमिरो, काउटिन्हो लगायतले मिडफिल्ड सम्हाल्नेछन्। अंग्रपंक्तिमा नेइमार, गाब्रियल जेसस, रोबर्टो फिर्मिनो जस्ता प्रतिभाशाली खेलाडी छन्।

नेइमार उदय र ब्राजिलको विश्वास
सन् २०१० को २६ जुलाई, जतिबेला नेइमार अमेरिकाविरूद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै थिए। त्यतिबेला उनको उमेर थियो, १८ वर्ष।
ब्राजिलको ११ नम्बर जर्सीमा उत्रिएका नेइमारले खेलको २८ मिनेटमा गोल गर्दै सनसनी मच्चाए। त्यो खेल ब्राजिलले २–० ले जित्यो। र, नेइमार रातारात उदाए।
नेइमार ब्राजिलका यस्ता प्रतिभाशाली खेलाडी हुन्, जसलाई पेलेको हाराहारीमा तुलना गर्ने गरिन्छ। उनले २० वर्षको उमेर मै क्लब फुटबलमा एक सय गोल पुरा गरिसकेका थिए।
नेइमारको जन्म ५ फेब्रअरी १९९२ मा साओ पाउलोमा भएको हो। उनका बुबा सिनियर नेइमार पनि व्यावसायिक फुटबल खेलाडी थिए। त्यसैले उनले छोरालाई फुटबल खेलाडी बनाउन कुनै कसर बाँकी राखेनन्।
नेइमार सानोमा साओ पाउलोको गरिब बस्ति मोगी डास क्रुजेजको खाल्टा–खुल्टी परेको बाटोमा फुटबल खेल्दैँ दिन बिताउँथे। छोराको प्रतिभाबाट परिचित उनका बुबाले सात वर्षको उमेरमा नेइमारलाई ‘पोर्चुगुएसा सान्टिस्टा’ क्लबको युथ क्याम्पमा भर्ना गराएका थिए।
त्यतिबेला नेइमारका बुबाले उनको प्रशिक्षण र घर खर्च दुबैको आर्थिक भार उठाउनु पथ्र्यो। तर, सन् २००३ मा उनी ब्राजिलको चर्चित क्लब सान्तोषको स्काउटको नजरमा परे।
यसपछि उनको परिवारले दुःख गर्नु परेन्। उनी १५ बर्षको हुँदा क्लबले पारिश्रमिकबापत उनलाई मासिक १० हजार रियास दिन्थ्यो। १६ बर्षमा उनी मासिक १ लाख २० हजार खाने भइसकेका थिए।
२६ वर्ष टेकेका नेइमार हाल विश्व फुटबलकै सबैभन्दा महंगा खेलाडी हुन्। उनलाई गत सिजनमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबले विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना क्लबबाट किनेको थियो।
नेइमारका धेरै फ्यानहरू यस कुराबाट बेखबर हुन सक्छन्, उनलाई १४ वर्षको उमेरमा रियल म्याड्रिडले ट्रायलका लागि बोलाएको थियो। उनले ट्रायल दिएका पनि थिए। तर, उनको खेल कौशल र क्षमताबाट प्रभावित सान्तोष क्लबले फुच्चे नेइमारलाई म्याड्रिडमा बेच्न चाहेन। हो, यतिनै बेला सान्तोषमा उनको तलब ह्वात्त बढेको थियो।
नेइमार सन् २००९ मा पहिलोपल्ट सान्तोषको सिनियर टोलीमा समावेश भएका थिए। उनी त्यही बर्ष ब्राजिलियन लिगको उत्कृष्ट युवा खेलाडी पनि घोषित भए। यसपछि उनको खेलको चारैतर्फ प्रशंसा भएको थियो।
सन् २०१० मा प्रिमियर लिग क्लब वेस्टह्याम युनाइटेडले फुच्चे नेइमारका लागि १ करोड २० लाख पाउन्डको अफर सान्तोष क्लबसमक्ष राखेको थियो। अझ, चेल्सीले त्यसभन्दा बढी रकम खर्च गर्ने इच्छा देखायो। यतिबेला पनि सान्तोषले दुवै इङ्लिस क्लबको प्रस्ताव ठाडैँ अस्वीकार गर्यो।
सन् १९६१ मा पेलेका लागि पनि सान्तोषले यस्तै रवैया अपनाएको थियो। त्यतिबेला पनि युरोपेली क्लबहरूले पेलेलाई भित्र्याउन भरमग्दुर प्रयास गरेका थिए। तर, ब्राजिली सरकारले नै पेलेलाई राष्ट्रिय सम्पत्ति घोषणा गर्यो। त्यसपछि युरोपेली क्लबको पेलेलाई ब्राजिलबाहिर खेलाउने योजना भताभुंग भयो।
नेइमारलाई अहिले ब्राजिलमा पेलैकै हाराहारीको खेलाडी मान्नेको कमी छैन। बलमाथि उनको नियन्त्रण, तीब्रता र छलाउने शैलीबाट पेले पनि कायल छन्। त्यसैले पेलेले पहिल्यै भविष्यवाणी गरेका थिए– नेइमार अबको केही वर्षमा संसारकै उत्कृष्ट खेलाडीको रूपमा उदाउँदैछन्।
त्यसैले उनले २०१० को विश्कपमै नेइमारलाई टिममा राख्न प्रशिक्षक डुंगालाई आग्रह गरेका थिए। तर, डुंगाले अनुभवको कमी भन्दै त्यतिबेला नेइमारलाई राष्ट्रिय टोलीमा राख्न मानेनन्।
सन् २०१२ को क्लब विश्वकपमा ब्राजिलको सान्तोष क्लब एक्कासी बार्सिलोनासँग ४–० ले पराजित भयो। यसपछि ब्राजिलियन फुटबल संघलाई लाग्यो, नेइमारको क्षमतालाई देशभित्रै बन्धक बनाउनु हुँदैन्। २०१४ मा आफ्नै देशमा आयोजना हुने विश्वकप जित्नु छ भने नेइमारलार्ई युरोपेली फुटबलको अनुभव दिलाउनु आवश्यक छ। फुटबल संघको दबाबपछि सान्तोष क्लब उनलाई युरोप पठाउन राजी भयो।

नेइमार सन् २०१३ मा ५ करोड ६० लाख पाउन्डमा अर्जेन्टिनाका अर्का स्टार स्ट्राइकर लिओनल मेसीकै क्लब बार्सिलोनामा पाँच बर्षका लागि अनुबन्धित भएका थिए। उनलाई बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याप नेउमा पहिलोपटक सार्वजनिक गर्दा ५७ हजार दर्शक उपस्थित थिए।
नेइमारसँग तीब्र गतिमा बल कुदाउने र अचानक दिशा परिवर्तन गर्न सक्ने अनौठो कला छ। उनी दुवै खुट्टा उत्तिकै चलाउँछन्।
सन् २०१२ को ओलम्पिकमा पनि नेइमार ब्राजिलको फुटबल टोलीमा थिए। त्यतिबेला ब्राजिलले स्वर्ण जित्न नसक्दा उनको ठूलो आलोचना भएको थियो। तर, उनले २०१६ को ओलम्पिकमा आफ्नो कप्तानीमा ब्राजिललाई स्वर्ण जिताउँदै आफ्नो देशलाई ठूलो गुण लगाए।
विश्व कपमा ब्राजिलले ५ वटा उपाधि जितेपनि ओलम्पिकमा यो देश स्वर्णविहिन रहदै आएको थियो। त्यो ‘डेड लक’ लाई तोड्ने काम उनै नेइमारले गरे। त्यसैले अहिले ब्राजिललगायत विश्वमा छरिएर रहेका उनका समर्थक उनको फर्क फर्किएको हेर्न चाहान्छन् र विश्वकपको ट्रफी उचालेको हेर्न चाहान्छन्। किनकी पटकको विश्वकपमा पनि नेइमारमाथि नै ब्राजिलको विश्वास छ। तर चोटबाट भर्खर मुक्त भएका नेइमारले ब्राजिलको भोकलाई मेटाउन सक्लान वा नसक्लान् त्यो हेर्न भने जेठ ३१ पछिका खेल कुर्नु पर्ने हुन्छ।

विश्वकप खेल्ने ब्राजिलियन टिम
गोलकिपर - एलिस्सन (रोमा), इडेर्सन (म्यानचेस्टर सिटी), कासियो (कोरिनथिएन्स)
फुल ब्याक - मार्सेलो (रियल म्याड्रिड), डानिलो (म्यानचेस्टर सिटी), फिलिप लुइस (एट्लेटिको म्याड्रिड), फाग्नेर (कोरिनथिएन्स)
सेन्टर ब्याक - मार्क्यूनोस (पिएसजी), थियागो सिल्भा (पिएसजी), मिरान्डा (इन्टर मिलान),
पेड्रो जेरोमेल, (ग्रिमियो)
मिडफिल्डर - विलियम (चेल्सी), फर्डिनान्डो (म्यानचेस्टर सिटी), पाउलिन्हो (बार्सिलोना), कासेमिरो (रियल म्याड्रिड), काउटिन्हो (बार्सिलोना), रेनाटो अगुस्टो (बेइजिङ गुअन), फ्रेड (शख्तर)
फरवार्ड - नेइमार (पिएसजी), गाब्रियल जेसस (म्यानचेस्टर सिटी), रोबर्टो फिर्मिनो (लिभरपुल), डाउलास कोस्ट (युभेन्टस), टाइसन (शख्तर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।