काठमाडाैं- अफगानिस्तानको कन्धार प्रान्तमा तालिबान र सरकारी सेनाबीचको युद्धको क्रममा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका प्रमुख फोटोग्राफ मारिएका छन्।
रोयटर्सका अनुसार तालिबान र अफगान सुरक्षाकर्मीको भिडन्तको रिपोर्टिङ गरिरहेका भारतीय पत्रकार दानिश सिद्धिकीको ज्यान गएको हो।
अफगानी सेनाका वरिष्ठ अधिकारीले यो समाचारको पुष्टि गरेका हुन्। यता, भारतमा रहेका अफगानिस्तानी राजदूत फरिद मामुन्दजईले पनि दानिशको मृत्यु कन्धारको स्पिन बोल्डाक जिल्लामा भइरहेको युद्धको रिपोर्टिङकाे क्रममा भएको पुष्टि गरेका छन्।
उनका अनुसार पुलित्जर पुरस्कार विजेता दानिश अफगान सुरक्षाबलसँगै थिए। तालिबानले बुधवार स्पिन बोल्डक शहर र पाकिस्तानसँग जोडिएको एक महत्वपूर्ण सीमा चौकीमाथि कब्जा जमाएका थिए।
उनी पछिल्ला केही दिनदेखि अफगानिस्तानमा जारी संघर्ष र तनावको निरन्तर रिपोर्टिङमा खटिएका थिए। उनले आफ्नो ट्विटर अकाउन्टबाट दुई दिनअघि मात्रै आफू ठूलो भिडन्तबीच मुस्किलले जोगिएको जनाकारी दिएका थिए।
भारतमा रोयटर्स पिक्चर्सका मल्टिमिडिया टिमका प्रमुखसमेत रहेका दानिश मुम्बई निवासी हुन्।
उनले दिल्लीको जामिया मिल्लिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए। सन् २००७ मा उनले जामियामा नै एजेके मास कम्यूनिकेशन रिसर्च सेन्टरबाट स्नातकोत्तर गरेका थिए।
उनले पत्रकारितामा करियरको शुरुवात एक टिभी सम्वाददाताका रुपमा गरेका थिए। त्यसपछि उनी फोटो पत्रकार बनेका थिए। उनले २०१० देखि रोयटर्समा काम गर्न थालेका थिए। २०१८ मा रोयटर्सको टोलीले प्रतिष्ठित पुलिट्जर पुरस्कार जित्दा दानिश त्यसको एक सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।