काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ। आज दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए।
संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदीय दलको बैठक बोलाउन प्रचलनअनुसार बैठक बोलाइएको सचेतक भट्टराईले जानकारी दिए। संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुने भट्टराईको भनाइ छ।
शुक्रबारको बैठकमा माधव नेपाल पक्षका सांसदसहित पार्टीका सबै (१२१ जना) सांसदलाई बोलाइएको छ। तर संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सहभागी नहुने भएको छ।
नेपाल पक्षका सांसद मेटमणि चौधरीले बैठकमा नजाने सल्लाह भएको बताए। उनले अहिलेसम्म २३ जना सांसदहरू बैठकमा सहभागी नहुने तय भएको बताए।
‘बैठकका लागि भनेर फोन र मेसेज दुवै आएको थियो। तर, हामी जाँदैनौं। २३ जनाभन्दा बढी पनि हुनसक्छ यो संख्या’, चौधरीले नेपाल लाइभसँग भने।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला जेठ ७ गते विघटन गरिएको प्रतिनिधि सभा सर्वोच्च अदालतको २८ असारको फैसलानुसार पुन:स्थापना भएको छ।
सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना गर्दै १ हप्ता भित्र अधिवेशन बोलाउन समेत परमादेश जारी गरेको थियो। बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते दिउँसो ४ बजे संसद् अधिवेशन आह्वान गरेकी छन्।
सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।