काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आउँदो साउन ३ गते दिउँसो ४ बजे संसद् अधिवेशन आह्वान गरेकी हुन्।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते आइतबार दिनको चार बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालय सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताएका छन्।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले संसद्का दुवै सदनको अधिवेशन साउन ३ गते आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते प्रतिनिधि सभा पुन:स्थापनाको फैसला सुनाउँदै १ हप्ताभित्र अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो।
राष्ट्रिय सभाको पछिल्लो अधिवेशन भने गत असार १७ गते सुरु भएकोमा राष्ट्रपतिले असार २८ गते अधिवेशन अन्त्य गरिदिएकी थिइन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।