काठमाडौं– सर्वोच्च अदालत बार एशोसिएशनले संसद विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलालाई लिएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थकका अभिव्यक्तिबाट स्वतन्त्र न्यायपालिकामाथि गम्भीर रुपमा आँच पुगेको बताएको छ।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीको पुत्ला दहन गर्ने र पदीय मर्यादामाथि गम्भीर आक्षेप लगाइ गाली गलौज गर्ने, भ्रम सिर्जना गर्ने, अफवाह फैलाउने लगायतका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन्।
'पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका कार्यकर्ताद्वारा अदालतको आदेशका विरुद्ध भ्रम तथा अफवाह फैलाउने उद्देश्यले अभिव्यक्त गरिएका 'जहानियाँ राणा शासन शैली, प्रधानमन्त्री तोक्ने विश्वमा नभएको जात्रा, संविधान र जनतामाथि अतिक्रमण, अदालतद्वारा च्यातिएको/भत्किएको संविधान लिकमा नआएसम्म आन्दोलन कायम रहने' लगायतका अन्य अति अशोभनीय आक्रामक शैलीप्रति यो बार क्षोभ प्रकट गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
स्वतन्त्र न्यायपालिकाको गरिमालाई कायम राख्न न्यायलयबाट हुने आदेश तथा फैसलाको उचित मूल्याङ्कन र विश्लेषण, प्राज्ञिक तथा स्वस्थ टिकाटिप्पणी गर्न सकिने भएपनि ओली र उनका समर्कका अभिव्यक्तिले न्यायपालिकामाथि गम्भीर रुपमा आँच पुगेको सर्वोच्च बारको भनाइ छ।
'संविधान र कानुनको ब्याख्या गर्ने क्रममा नेपालको संविधानको धारा १२६ को उपधारा ( १) र धारा १२८ को उपधारा (२) ले दिएको अधिकार प्रयोग गरी संविधान, प्रचलित कानुन र विधिशास्त्रीय मूल्य, मान्यता तथा सिद्धान्तका आधारमा सम्मानित सर्वोच्च अदालतद्वारा गरिएको आदेशको सम्मान गर्न र सो आदेशको विरुद्ध कुनै किसिमका अमर्यादित गतिविधि नगर्न/नगराउन तथा संयमित हुन सम्बन्धित पक्षसमक्ष यो बार गहिरो आग्रह गर्दछ,' सर्वोच्च बारले विज्ञप्तिमार्फत भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।