काठमाडौं- शुक्रबार बोलाइएको नेकपा (एमाले)को संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने सो पक्षका सांसद मेटमणि चौधरीले बताएका छन्।
नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य चौधरीले बैठकमा नजाने सल्लाह भएको बताए। उनले अहिलेसम्म २३ जना सांसदहरू बैठकमा सहभागी नहुने तय भएको बताए।
‘बैठकका लागि भनेर फोन र मेसेज दुवै आएको थियो। तर, हामी जाँदैनाैं। २३ जनाभन्दा बढी पनि हुनसक्छ यो संख्या’, चाैधरीले नेपाल लाइभसँग भने। प्रधानमन्त्रीबाट बाहिरिएपछि संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले शुक्रबार दलको बैठक आह्वान गरेका हुन्।
शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए।
संसद् अधिवेशनको पूर्वसन्ध्यामा संसदीय दलको बैठक बोलाउने प्रचलनअनुसार बैठक बोलाइएको सचेतक भट्टराईले जानकारी दिए। संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुने भट्टराईको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला जेठ ७ गते विघटन गरिएको प्रतिनिधि सभा सर्वोच्च अदालतको २८ असारको फैसलानुसार पुन:स्थापना भएको छ।
सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना गर्दै १ हप्ता भित्र अधिवेशन बोलाउन समेत परमादेश जारी गरेको थियो। सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते दिउँसो ४ बजे संघीय संसद्को बैठक बोलाउने राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।