काठमाडौं– पाँच विद्यार्थी संगठनले बढाइएको सार्वजनिक सवारी साधनको भाडादर नघटाए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बिहीबार बसेको पाँच विद्यार्थी संगठनको बैठकले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरिबमारा निर्णय भएको ठहर गरेको छ। ‘भाडावृद्धिले लकडाउनमा शहरबाट घर गएका विद्यार्थी पढाइमा फर्कनै नसक्ने गरी कठिनाइ उत्पन्न गराएको छ भने दीर्घकालीन रुपमा जनताको पैसा लुटेर व्यवसायीहरु पोस्ने व्यवस्था मिलाइएको छ,’ ५ विद्यार्थी संगठनको संयुक्त वक्तव्यमा भनिएको छ।
पूर्ववर्ती सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडावृद्धि गर्ने निर्णय गरेको थियो। शुक्रबार (साउन १ ) मा यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेस गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने विद्यार्थी संगठनले जनाएका छन्।
पेट्रोलियम पदार्थमा लगाइएको कर र अन्य कतिपय असान्दर्भिक शीर्षकमा उठाउने रकम घटाएर थप मूल्य घटाउन माग गरिएको छ। एलपी ग्यासमा दुई रङ्गको सिलिन्डर बनाई विद्यार्थीलाई परिचयपत्रका आधारमा तत्काल सहुलियत दरमा उपलब्ध गराउन पनि विद्यार्थी संगठनले माग गरेका छन्।
निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै आर्थिक चलखेल गरेको विद्यार्थी संगठनले आरोप लगाएका छन्। विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजहरूको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन (स्विचिङ्) गर्ने नाममा रातारात ठूलो आर्थिक चलखेल र अनियमिता भएको पाइएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।
तोकिएको मापदण्ड र निर्देशिका विपरीतको अवैध प्रक्रिया तत्काल रोक्न र घोटालामा संलग्नहरुलाई छानबिन गरी कार्वाही गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।