काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघले युथ फोर्स ब्यूँत्याएलगत्तै वरिष्ठ नेता माधव नेपाल पक्षले अखिल फोर्स घोषणा गरेको छ।
ओली पक्षीय युथ फोर्सलाई काउन्टर दिन अखिल फोर्स घोषणा गरिएको नेपाल पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।
विद्यार्थी नेता तपेन्द्रजङ्ग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स घोषणा गरिएको हो। यसले शैक्षिक क्षेत्रमा रहेको विकृतिको निगरानी गरेर संगठनमा जानकारी गराउने अध्यक्ष पराजुलीको भनाइ छ।
पराजुलीले भने, ‘शैक्षिक क्षेत्रमा रहेको विकृति रोक्नका लागि यसले निगरानी गर्नेछ।’
यसअघि ओली पक्षीय युवा संघले उपाध्यक्ष क्षितिज थेवेको नेतृत्वमा युथ फोर्स ब्यूँत्याएको थियो। ओली पक्षले ५०१ सदस्यीय फोर्स घोषणा गरेको थियो।
नेकपा एमालेमा अन्तरसंघर्ष जारी रहँदा युवा विद्यार्थी संगठन भने भिड्ने अवस्थामा आइपुगेका छन्। एमाले एकता कार्यदलले १० बुँदे साझा प्रतिवेदनमा हस्ताक्षर भए पनि त्यसको कार्यान्वयनका विषयमा आशंका बढेको छ। उक्त सहमति कार्यान्वयनका लागि दुवै समूहले तदारुकता देखाउन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।