काठमाडौं– नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए।
संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदीय दलको बैठक बोलाउन प्रचलनअनुसार बैठक बोलाइएको सचेतक भट्टराईले जानकारी दिए। संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुने भट्टराईको भनाइ छ।
शुक्रबारको बैठकमा माधव नेपाल पक्षका सांसदसहित पार्टीका सबै (१२१ जना) सांसदलाई बोलाइएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला जेठ ७ गते विघटन गरिएको प्रतिनिधि सभा सर्वोच्च अदालतको २८ असारको फैसलानुसार पुन:स्थापना भएको छ। सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना गर्दै १ हप्ता भित्र अधिवेशन बोलाउन समेत परमादेश जारी गरेको थियो।
सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।