काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा 'बस दुर्घटना' हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ। जसमध्ये ९ जना चिनियाँ नागरिक रहेको बीबीसीले जनाएको छ। उनीहरु डासू बाँध परियोजनामा काम गरिरहेका थिए।
चीनले यसलाई बम विस्फोटका कारण भएको जनाएको छ तर पाकिस्तानले भने ग्यास लिकेज हुँदा विस्फोट भएको दाबी गरेको छ।
यो विस्फोट अपर कोहिस्तान जिल्लामा भएको थियो। डासूका सहायक कमिश्नर आसिम अब्बासले बीबीसीलाई बताए अनुसार दुर्घटनामा मर्ने ९ चिनियाँ नागरिक इन्जिनियर थिए। यसका अलावा पाकिस्तानको फ्रन्टियर कोरका दुई जवान र अन्य दुई जनाको मृत्यु भएको छ।
यस 'बम विस्फोट' मा २७ जना घाइते भएका छन्। जसमध्ये अधिकांश चिनियाँ नागरिक रहेका छन्। ९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
मिडिया रिपोर्टहरुका अनुसार विस्फोटपछि बस खोंचमा खसेको थियो। पाकिस्तानस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै बम विस्फोटमा ९ चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।