काठमाडाैं- तालिबानले अफगानी सैनिकसँग युद्ध गर्न नचाहेको बताएकाे छ।
तालिबानका प्रवक्ता आमिर खान मुत्ताकीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीसँग अफगान सैनिकसँग युद्ध गर्न नचाहेकाे बताएका हुन्।
‘अब युद्ध पहाडी र विकट क्षेत्रबाट शहरी क्षेत्रसम्म आइपुगेको छ। यद्यपि, मुजाहिद्दिन शहरभित्र युद्ध गर्न चाहँदैनन्। त्यसैले राम्रो यो हुन्छ कि वार्ताको कुनै माध्यम बनाइयोस्,’ उनले भनेका छन्।
विदेशी सैनिक फिर्ता जान थालेसँगै तालिबानको नियन्त्रण अफगानिस्तानमा तीव्र गतिमा बढेको छ। तालिबानले अफगानको ८५ प्रतिशतभन्दा बढी क्षेत्रलाई आफ्नो कब्जामा लिएको दाबी गरेकाे छ।
उनीहरुका अनुसार अफगानिस्तानमा अब केही सहर मात्र अफगानी सेनाको नियन्त्रणमा बाँकी रहेको छ। अब यी क्षेत्रमा आवश्यक सामग्रीहरु केवल हवाईजहाजबाट पठाउनुपर्ने अवस्था आएको छ।
‘हाम्राे कब्जामा रहेकाे स्थानमा कुनै आवश्यक सामग्री लैजाने अवस्था छैन। त्यसैले वार्ता आवश्यक छ। वार्ताको कुनै माध्यम बनाइए शहरलाई नोक्सानीबाट बचाउन सकिन्छ,’ उनले भने।
तालिबानले सन् १९९० को दशकमा पनि पहिलोपटक सत्तामा आउँदा पनि शहरलाई चारैतिरबाट घरेर केही वरिष्ठ अधिकारीसँग मध्यस्थता गर्ने नीति अपनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।