काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेता धर्मेन्द्र बाँस्तोलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्।
चन्द र बाँस्तोला प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए। उनीहरूबीचको भेटवार्ता सकिएको छ।
भेटमा कारागारमा रहेका नेकपाका नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
विप्लवले यसअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका थिए।
चन्द नेतृत्वको नेकपाले गतवर्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेको थियो। जसमा नेकपाका कार्यकर्ता रिहा र मुद्दा फिर्ताको विषय प्रमुख थियो। तर, उक्त निर्णय कार्यान्वयन नगरेरै ओली पदमुक्त भइसकेका छन्।
मंगलबार मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् भने माओवादी केन्द्र पनि सरकारमा सहभागी छ।
नेकपाका १३० जनाभन्दा बढी नेता कार्यकर्ता विभिन्न कारागारमा छन् भने त्यति नै मात्रामा मुद्दा फिर्ता हुन बाँकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।