काठमाडौं- नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गरेका छन्।
अर्थ मन्त्रालयमा पदबहालीपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताए। मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिवद्धता भएको मन्त्री शर्माले बताए।
मन्त्री र कर्मचारीबीच कुनै दूरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरे। मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न मन्त्री शर्माको आग्रह छ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढिरहेको व्यापार घाटा चुनौतीको रुपमा देखिँदै गएको बताए। गर्भनर अधिकारीले मुद्रा सञ्चितिको अवस्था राम्रो भएपनि व्यापार घाटा चुलिँदै गएकोमा चिन्तित हुनुपर्ने बताए।
नवनियुक्त अर्थमन्त्रीलाई मन्त्रालयमा परिचयात्मक ब्रिफिङ गर्दै सचिव शिशिर कुमार ढुंगानाले आर्थिक स्रोतका दक्षतापूर्ण परिचालन गर्न सकेमात्र लक्ष्य गरिएको आर्थिक वृद्धि मेटाउन सकिने बताए।
सचिव ढुंगानाले खोप खरिद र वितरण तथा कोभिड प्रभावितहरुका लागि राहत र पुनःस्थापना साथै समग्र अर्थतन्त्रको पुनर्उत्थानमा मन्त्रालयले प्राथमिकताको साथ काम गर्नुपर्ने बताए। यसका साथै अहिले सरकारले ननिजी क्षेत्रको मनोबललाई उच्च राख्नेगरी काम गर्नुपर्ने ढुंगानाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।