तस्वीर : रासस।
काठमाडौं- नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले कोभिड-१९ को विरुद्ध अग्रपंक्तिमा खट्नेहरुलाई प्रोत्साहन भत्ता दिन सरकार गम्भीर रहेको बताएका छन्। बुधबार पदबहाली गर्दै मन्त्री खाँणले उनीहरुको सुरक्षाको व्यवस्था गर्नु राज्यको दायित्व भएको भन्दै व्यवस्थापन गर्न र प्रोत्साहन भत्ता दिनका लागि सरकार गम्भीर रहेको पनि बताए।
‘फ्रन्टलाइनमा रहेका साथीहरुको सुरक्षाको व्यवस्था गर्ने दायित्व पनि राज्यको हो। हामीहरुले समुचित व्यवस्थापन गर्नुपर्दछ। र, आवश्यक ठाउँमा सरकारले बजेट व्यवस्थापन गर्ने, खर्च गर्ने, उनीहरुलाई समुचित प्रोत्साहित गर्न भत्ता दिने, उनीहरुको उपचारका लागि गम्भीर बन्ने, सम्बोधन गर्ने त्यो काम हामी सबैले मिलेरै गर्नुपर्छ। सरकार त्यसमा गम्भीर नै हुन्छ’, उनले भने।
गृहमन्त्री खाँणले आर्थिक वर्ष २०७८/८९ को बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरु सँग छलफल गरेर निर्णय लिने पनि बताए। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको कार्यान्वयनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा वर्तमान सरकारले विज्ञ र प्रशासकहरुसँग सल्लाह गरी निर्णय लिने उनको भनाइ छ।
उनले बजेटको अध्ययन गरी संवैधानिक र कानुनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिने बताए। ‘विज्ञहरुसँग छलफल गर्छौं। प्रशासकहरुसँग सल्लाह गर्छौं र त्यसको सीमाहरु के छ, कानुनी प्रक्रियाहरु, संवैधानिक प्रक्रियाहरु के छन् त्यसको अध्ययन गरेर संवैधानिक, कानुनी र अहिलेको वस्तुस्थितिलाई ध्यानमा राखेरै हामी निर्णय लिन्छौँ।’
उनले व्यवस्थापिका संसद्लाई बढीभन्दा बढी सक्रिय बनाउनका लागि सरकारले भूमिका खेल्ने बताए। ओली सरकारले ल्याएका अध्यादेशहरुको सम्बन्धमा कस्ता कस्ता अध्यादेशहरु ल्याएका छन् त्यस सम्बन्धमा पनि छलफल हुने मन्त्री खाँणले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।