काठमाडौं– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अदालतको "असंवैधानिक' फैसलाले प्रधानमन्त्रीबाट हटेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि उनले आफूलाई बिनाकारण हटाइएको बताएका हुन्।
उनले भने, ‘तीन वर्ष पाँच महिनाको कार्यकाल पूरा गरेर आएको छु। म जनताको जनादेशबाट हटेको होइन, अदालतबाट अकारण हटाइएको हुँ। अदालतको असंवैधानिक फैसलाबाट हटाइएको हो।’
अदालतले असैंवैधानिक फैसला गर्दै जनतामा जान नदिएको उनको भनाइ छ। उनले भने, ‘जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर कायम गरेर हटाइएको छ। नेपाली लोकतन्त्र र संविधानमाथि अतिक्रमण भएको छ। जनताको अधिकार खोसिएको छ।’
जनताको अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा भएको पनि उनले टिप्पणी गरे। ओलीले अन्य दललाई चुनावमा आएर देखाउन समेत चुनौती दिए। ‘बचेर कहाँ जान्छ, फेरि चुनाव त आओस्। सधैं अदालतको परमादेशबाट किस्तीमा प्रधानमन्त्री पाइँदैन,’ ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।