काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग एमाले उपाध्यक्ष वामदेव गाैतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छुट्टाछुट्टै छलफल गरेका छन्।
नेता नेपाललाई भेट्न गाैतम र श्रेष्ठ बुधबार बिहान नेपालनिवास पुगेका थिए। श्रेष्ठले बिहान ८ बजे र गाैतमले ९ बजे नेपाललाई भेटेका थिए।
भेटमा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका श्रेष्ठले नेता नेपाललाई प्रतिगमन परास्त भएको र शेरबहादुर देउवाको नेतृत्वमा भर्खर सरकार बनेकाले सहयोग गर्न आग्रह गरेका थिए। उनले सरकारलाई विश्वासको मत दिएर पूर्ण अवधि चल्न दिने पक्षमा लाग्न नेता नेपालसँग आग्रह गरेको नेता नेपालनिकट एक नेताले जनाकारी दिए।
सरकारले विश्वासको मत नपाउने हो भने फेरि संसद् विघटन हुने अवस्था आउने र यो संविधान, लोकतन्त्रका लागि राम्रो नहुने श्रेष्ठले बताएका थिए।
त्यसक्रममा नेता नेपालले पार्टीमा छलफल गरेर आफू अघि बढ्ने बताएका थिए। देउवालाई प्रधामन्त्री बनाउन एमालेको माधव नेपाल पक्षले पनि हस्ताक्षर गरेको थियो तर सर्वोच्च अदालतले सोमबार संसद पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिएका थिए।
एमालेको नेपाल पक्षले विश्वासको मत नदिने हो भने देउवाले संसद्मा विश्वासको मत पाउने अवस्था बन्दैन।
यस्तै, गाैतमसँगको भेटमा दुई नेताबीच एमाले एकताका विषयमा छलफल भएको बताइएको छ। एमाले एकताका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको थियो। उक्त सहमति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई हस्तान्तरण गरिसकिएको छ।
सहमतिलाई स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गराउने एमालेको तयारी छ। तर, सर्वाेच्चको फैसलापछि विकसित घटनाक्रमले एमाले बैठक बस्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।