काठमाडाैं- शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख नहटाउने संकेत गरेको छ। पूर्ववर्ती सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई परिवर्तन नगर्ने कांग्रेसले जनाएको छ।
प्रधानमन्त्री देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने,‘हामी छुचो कामतिर लाग्दैनौं। काम गर्दै जाँदा प्रदेश प्रमुखले असजिलो बनाए भने अर्कै कुरा हो। परिवर्तन गर्ने सोच हामीले बनाएका छैनौं।’
प्रदेश प्रमुख तीनपटकसम्म परिवर्तन भएका छन्। प्रदेश संरचना बनिसकेपछि पहिलोपटक देउवा नेतृत्वकै सरकारले प्रदेश प्रमुख नियुक्त गरेको थियो। सरकारबाट बाहिरिनुअघि देउवाले ३ माघ २०७४ मा सातवटै प्रदेशमा प्रमुखहरू नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थिए।
तत्कालीन समयमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ (हाल बागमती) मा अनुराधा कोइराला, प्रदेश ४ (हाल गण्डकी) मा बाबुराम कुँवर, प्रदेश ५ (हाल लुम्बिनी)मा उमाकान्त झा, प्रदेश ६ (हाल कर्णाली)मा दुर्गाकेशर खनाल र प्रदेश ७ (हाल सुदूरपश्चिम) मा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।
देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई तत्कालीन नेकपा सरकारले २०७६ को कात्तिकमा हटाएको थियो। पूर्वएमाले र माओवादी केन्द्रलाई भागबण्डामा प्रदेश प्रमुख बाँडिएको थियो। नेकपाको सरकार रहेको बेला एमालेपक्षलाई चार र माओवादी केन्द्रपक्षलाई तीन प्रदेश प्रमुख बाँडिएको थियो।
प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, बागमतीमा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त त्रिपाठी नियुक्त भएका थिए। अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्वएमाले पक्षबाट प्रदेश प्रमुखमा नियुक्ति पाएका थिए। परियार, शेरचन र त्रिपाठी पूर्वमाओवादी समूहबाट प्रदेश प्रमुख बनेका थिए।
सर्वोच्च अदालतको फैसलापश्चात् एमाले र माओवादी केन्द्र ब्युँतिएपछि केपी ओली सरकारले माओवादी धारका प्रदेश प्रमुख हटाउन थालेको थियो। गत फागुनमा प्रदेश २ का मुख्यमन्त्री तिलक परियारलाई हटाइएको थियो। उनको ठाउँमा ओलीनिकट राजेश झालाई जिम्मेवारी दिइएको छ। गत वैशाखमा गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाइए। एमालेका ओली पक्षका दुई जनालाई जिम्मेवारी दिइएको छ। गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त पाएका थिए। गण्डकी र सुदूरपश्चिममा माओवादी निकट क्रमशः अमिक शेरचन र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखबाट हटाएर पौडेल र यादवलाई नियुक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।