काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। नेता नेपालाई भेट्न श्रेष्ठ बुधबार बिहान नेपालनिवास कोटेश्वर पुगेका थिए।
भेटमा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका श्रेष्ठले नेता नेपाललाई प्रतिगमन परास्त भएको र शेरबहादुर देउवाको नेतृत्वमा भरखर सरकार बनेकाले सहयोग गर्न आग्रह गरेका थिए। उनले सरकारलाई विश्वासको मत दिएर पूर्ण अवधि चल्न दिनेपक्षमा लाग्न नेता नेपालसँग आग्रह गरेको नेता नेपाल निकट एक नेताले जनाकारी दिए।
सरकारले विश्वासको मत नपाउने हो भने फेरि संसद विघटन हुने अवस्था आउने र यो संविधान, लोकतन्त्रका लागि राम्रो नहुने श्रेष्ठले बताएका थिए।
त्यसक्रममा नेता नेपालले पार्टीमा छलफल गरेर आफू अघि बढ्ने बताएका थिए। देउवालाई प्रधामन्त्री बनाउन एमालेको माधव नेपालपक्षले पनि हस्ताक्षर गरेको थियो तर सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिएका थिए।
एमालेको नेपाल पक्षले विश्वासको मत नदिने हो भने देउवाले संसदमा विश्वासको मत पाउने अवस्था बन्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।