काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमालेको एकता हुन नदिन आफूलाई फोनमा दबाब र धम्की आएको बताएका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै उनले एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरूबाट दबाब र धम्कीयुक्त फोन आएको रावलले बताएका छन्। तर, कसले त्यसो दबाब र धम्की दिएको भन्ने बारेचाहिँ रावलले स्पष्ट खुलाएका छैनन्।
उनले आफूले असार २० गते भारतीय गुप्तचर संस्था 'रअ'का प्रतिनिधिसँग होटल मेरियटमा भेटको भनी केही सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको समेत बताएका छन्। उनले त्यो दिन आफू एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा नेता रघुजी पन्तसँग छलफल गरेको र त्यसपछि निवास पुगेर बालुवाटार गएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र वरीष्ठ नेता नेपालबीच असार २३ गते भएको वार्ताका दिनमात्र आफू होटल मेरियट अन्य पाँचजना नेताहरुसँगै गएको र अन्य कुनै दिन त्यहाँ नगएको बताएका छन्।
'पद र प्रतिष्ठाको लागि वाह्य शक्तिका सामु घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरुले नै मेरो विरुद्ध उक्त प्रकारको झुठो प्रचार घृणित तहमा झरेर गरेका हुन्। यस्तो कुप्रचारको भ्रममा नपर्न म सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु', रावलले भनेका छन्, 'नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र समृद्धिको लागि मैले उठाएको देशभक्ति र स्वाभिमानको झण्डा कदापी झक्ने छैन। देशघाती र जनघातीहरुको कुप्रचारवाट म रत्तिभर विचलित हुनेछैन।'


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।