काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति कार्यालयको पत्रमा भएको भाषा सच्चिएको छ।
भाषा सच्चिएपछि देउवा शपथ लिन तयार भएका छन्। शीतलनिवासमा शपथ समारोह सुरु भएको छ।
नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले शपथ लिन मानेका थिएनन्। उनले नियुक्तिमा संविधानको धारा ७६ (५) उल्लेख हुनुपर्ने अडान लिएका थिए। साेही अनुसार राष्ट्रपति कार्यालयले भाषा सच्याएर संविधानको धारा उल्लेख गरेको छ।
त्यसअघि मुख्य सचिव शंकरदास वैरागीलाई देउवाले फोनमार्फत् नियुक्ति सच्याउन भनेर शीतलनिवास हिँडेका थिए। तर, राष्ट्रपति कार्यालयले त्यसलाई अस्वीकार गरेपछि विवाद बढेको थियो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायतले राष्ट्रपतिसँग छलफल गरेका थिए।
सोमबारको संवैधानिक इजलासले गरेको फैसला अनुसार भन्दै संविधानको धारा ७६ को उपधारा (५) उल्लेख नगर्नु राष्ट्रपतिको 'नियत' भएको संवैधानिक कानुनका जानकारहरूको टिप्पणी छ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधि सभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’, मंगलबार अपराह्न राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको थियो।
यसअघि प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख गर्ने गरिएको थियो। २०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा पनि विज्ञप्तिमा ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’ भनिएको थियो।
त्यस्तै, गत वैशाख ३० गते ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्दा पनि विज्ञप्तिमा ‘नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’ भन्ने उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।