काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुरलाई आज साँझ ६ बजे प्रधानमन्त्रीको शपथ गराउने तयारी भएपनि 'नियुक्ति विवाद'का कारण अझै शपथ हुन सकेको छैन। शपथका लागि देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। तर, नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले शपथ लिन मानेका छैनन्।
अहिले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल चलिरहेको छ।
नियुक्तिमा प्रयोग गरिएको भाषा नसच्चिएसम्म शपथ नलिने देउवाले अडान लिएका छन्। मुख्य सचिव शंकरदास वैरागीलाई देउवाले फोनमार्फत् नियुक्ति सच्याउन भनेर शीतलनिवास हिँडेका थिए। तर, राष्ट्रपति कार्यालयले त्यसलाई अस्वीकार गरेपछि विवाद बढेको छ। देउवाले संविधानको धारा ७६ (५) उल्लेख हुनुपर्ने जिकिर गरेका छन्।
देउवालाई राष्ट्रपति भण्डारीले संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेपछि यो विषय विवादमा परेको हो। सोमबारको संवैधानिक इजलासले गरेको फैसला अनुसार भन्दै संविधानको धारा ७६ को उपधारा (५) उल्लेख नर्गनु राष्ट्रपतिको 'नियत' भएको संवैधानिक कानुनका जानकारहरूको टिप्पणी छ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधि सभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’, मंगलबार अपराह्न राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख गर्ने गरिएको थियो। २०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा पनि विज्ञप्तिमा ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’ भनिएको थियो।
त्यस्तै, गत वैशाख ३० गते ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्दा पनि विज्ञप्तिमा ‘नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’ भन्ने उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।