काठमाडाैं- महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन्।
नेपालको संविधानको धारा १५७ बमोजिम मंगलरबारदेखि लागू हुनेगरी उक्त राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
बडाल इतिहासमै सबैभन्दा कम समय महान्यायाधिवक्ता बन्ने व्यक्ति भएका छन्। सर्वोच्च अदालतको आदेशबमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि सरकारका कानुनी सल्लाहकार बडालले पद छाडेका हुन्।
बडाल चैत ८ गते महान्यायाधिवक्ताको रुपमा प्रवेश गरेका थिए। उनी उक्त जिम्मेवारीमा तीन महिना २१ दिन बसे। बडाल हालसम्म सबैभन्दा कम समय महान्यायाधिवक्ता भएका छन्। यसअघि हरि फुयाँल चार महिना महान्यायाधिवक्ता भएका थिए।
महान्यायाधिवक्ता बडाल चर्चा र विवाद दुवैमा परे। पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि उनी आएकाले तत्कालीन समयमा उनको आगमनलाई लिएर चर्चा भएको थियो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको बचाऊ गर्न नसकेको भन्दै असन्तुष्ट रहेका ओलीसँग कुरा नमिलेपछि खरेल बाहिरिएका थिए।
उक्त पदमा आएका बडाल भने न्यायिक इतिहासमा पहिलोपटक संवैधानिक इजलासले आफ्नो फैसलामा न्यायिक टिप्पणी गरेको दाग बोकेर गएका छन्।
सरकारको कानुनी सल्लाहकार भएर पनि रिट निवेदकभन्दा अघि इजलासमा पुगेर हस्तक्षेप गर्नेदेखि न्यायाधीश छान्नेसम्मका बहस उनले गरेपछि इजलासले फैसलाका क्रममा उनको नाममा टिप्पणी नै गरेको छ।
संवैधानिक इजलासलाई सहयोग गर्नुपर्ने महान्यायाधिवक्ताले नै न्यायाधीश रोज्न थालेपछि सुनुवाइ नै विवादित भएको थियो। उनले वरिष्ठताका आधारमा तोकिएको संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्न नहुने र के आधारमा फरक राय लेखेको भनी प्रश्न उठाएका थिए।
उनको नेतृत्वमा प्रधानमन्त्री ओलीका कानुन व्यवसायीसमेत उपस्थित भएर न्यायाधीशविरुद्ध इजलासमा बहस नै भएको थियो। यो प्रकरणलाई नोटिस गर्दै फैसलाको पूर्णपाठमा टिप्पणी गरिएको छ। यो टिप्पणी न्यायिक इतिहासमा रेकर्ड भएको छ।
बडाल बाहिरिएसँगै उक्त पदमा नेपाली कांग्रेसनिकट कानुन व्यवसायी नियुक्तिका लागि लविङमा लागेका छन्। महान्यायाधिवक्ताका लागि हालसम्म खम्बबहादुर खाती, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, प्रेमबहादुर खड्का, दामोदर खड्कालगायतको नाम चर्चामा रहेको छ। वरिष्ठ अधिवक्ता कार्कीले प्रतिनिधि सभाको विघटनको बहसको नेतृत्व गरेको र राम्रो छवि भएको व्यक्तिको रुपमा रहेकाले उनलाई लैजानुपर्ने पक्षमा कांग्रेस सर्मथित कानुन व्यवसायी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।